काठमाडौं । अन्तर्राष्ट्रिय पर्यटन बजारमा उत्कृष्ट पर्यटन गन्तव्य मुलुकको पहिचान बनाएको नेपालमा पर्यटक आगमन भने उल्लेख्य छैन् ।
गएको वर्ष पनि नेपालले औसत आगमनमै चित्त बुझाएको थियो । नेपाल पर्यटन बोर्डका अनुसार २०२४ मा ११ लाख ४७ हजार ५ सय ६७ पर्यटक नेपाल आएका थिए । तथ्यांक अनुसार एक वर्षमा नेपालले मासिक ९५ हजार ६ सय ३० पर्यटक मात्र भित्र्याउन सकेको छ ।
नेपालमा वार्षिक १० लाख पर्यटक आगमन २०१९ मै नाघेको हो । त्यसपछिका दुई वर्ष २०२० र २०२१ कोभिड महामारीले प्रभावित भयो । त्यसपछि संसारभरि तीव्र गतिले आगमन सुधार भए पनि नेपालको गति सुस्त छ। जुन गति २०२४ मा समेत विस्तार हुन नसकेको पर्यटन व्यवसायीहरुको गुनासो छ ।
२०१९ मा ११ लाख ९७ हजार १ सय ९१ पर्यटक नेपाल आएका थिए । २०२२ मा ६ लाख १४ हजार ८ सय ६९ र २०२३ मा १० लाख १४ हजार ८ सय ८२ आएको तथ्यांक नेपाल पर्यटन बोर्ड संग छ ।
पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने भने कोभिड महामारी देखि आगमनमा परेको असरले केही सुस्त भए पनि अपेक्षा अनुसार पर्यटक आएको बताउनु भयो ।
शृङ्खलाबद्ध ठुल्ठूला सडक दुर्घटनाका कारण भारतीय पर्यटकमा परेको मनोवैज्ञानिक असर र चीनको आन्तरिक अर्थतन्त्रका कारण पर्यटक कम हुँदा त्यसले नेपालमा आगमन बढाउन नसकेको उहाँको भनाइ छ ।
यसलाई चिर्न पछिल्लो समय समूहमा पर्यटक तान्न भइरहेका प्रयासले भने सकारात्मक परिणाम दिइरहेको मन्त्रालयका कर्मचारीहरुको भनाई छ ।
डिसेम्बरमा ९२ हजार पर्यटक नेपाल आएका थिए । एनपीएल क्रिकेटमा भारतीय पर्यटक आगमन र ड्रागन बोट रेसमा चीनबाट ग्रुपमा पर्यटक आउनु सकारात्मक पक्ष भएको मन्त्रालयका पदाधीकारीहरुको भनाई छ ।
नेपालमा सडकको दयनीय अवस्थाको पर्यटन बजारमा बढी आलोचना भइरहेको छ । काठमाडौं बाट प्रमुख पर्यटन गन्तव्य पोखरा, चितवन र लुम्बिनी पुग्ने सडक पुनर्निर्माण क्रममा रहेका पनि समस्या थपीएको छ ।
कामको गति कम हुँदा पछिल्लो आधा दशकयता यी सडक हुँदै यात्रा गर्ने सर्वसाधारण र पर्यटकले सास्ती पाइरहेका छन् । अर्कातर्फ, दुर्घटनाको दर समेत बढिरहेको छ ।
यसको नकारात्मक प्रचारले भारतीय पर्यटक आगमन प्रत्यक्ष प्रभावित हुने व्यवसायी बताउँछन् । अकोतर्फ, हवाई यात्रा समेत महँगो छ ।