जाडो र जोर्नी दुखाइबीच विशेष सम्बन्ध छ । जाडोमा तापक्रम घट्दा मांसपेशी तन्किन थाल्छन् । जसकारण जोर्नी वरपरका नसाहरू फुल्न थाल्छ । यसले जोर्नीहरूमा कडापन र दुखाइ बढ्छ । विशेषगरी जोर्नी वा जोर्नीमा समस्या भएकाहरूको दुखाइ जाडोमा पहिलेको भन्दा बढ्छ ।
जाडो मौसममा प्रायः व्यक्ति बढी आराम गर्ने गर्छन् । यसबाट शारीरिक सक्रियता कम हुन्छ । दिन छोटो र रात लामो हुनाले जीवनशैली परिवर्तन हुन जान्छ । त्यसैले हाम्रो खानपानको बानी समेत परिवर्तन हुन्छ । हामी व्यायाम पनि कम गर्छौं । त्यसैले जोर्नी दुख्ने समस्या अझ बढ्न जान्छ ।
जाडोमा जोर्नी दुखाइ बढ्ने कारण
जाडो मौसममा वायुमण्डलीय दबाब न्यून हुनाले जोर्नी तथा मांसपेशीहरू सुन्निने समस्या हुन्छ । यसकारण जोर्नीको दुखाइ पनि वृद्धि भएर जान्छ ।
जाडो मौसममा हावाको चाप कम हुँदा जोर्नीमा रहेको तरल पदार्थ बाक्लो हुन थाल्छ, जसकारण जोर्नी दुख्ने समस्या बढ्छ । जोर्नी दुख्ने समस्याका कारण उठ्न, बस्न र दैनिक काम गर्न समेत कठिनाइ हुन्छ । जाडो मौसममा तापक्रम घट्न थाल्छ । जसकारण शरीरका रक्तनलीहरू खुम्चिन थाल्छ र रगतको प्रवाह सुस्त हुन्छ । यस्तो अवस्थामा जोर्नी दुख्ने समस्या बढी हुन्छ ।
जो व्यक्तिलाई पहिले देखी बाथको समस्या छ उनीहरूको पनि जोर्नी दुख्ने समस्या जाडो मौसममा बढ्छ । चिसो मौसममा सूर्यको किरण पर्ने समय छोटिँदा शरीरमा भिटामिन–‘डी’ को मात्रा कमी हुँदा हाड जोर्नीको दुखाइ बढ्छ ।
खानपानमा ध्यान नदिंदा तथा खानामा क्याल्सियमको कमीले पनि जाडोमा जोर्नी दुखाइको समस्या हुन सक्छ ।
बच्ने उपाय
चिसो तथा जोर्नी दुखाइबाट बच्न केही कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ । सबैभन्दा पहिलो कुरा त शरीरलाई न्यानो बनाएर राख्नुपर्छ । न्यानो कपडा लगाउने र हिटरले कोठालाई न्यानो बनाउनुपर्छ ।
जाडो मौसममा जोर्नीको दुखाइबाट बच्न आफूलाई सक्रिय राख्नुपर्छ र दैनिक व्यायामका लागि समय निकाल्नुपर्छ । बाहिर जान नसके घरमै योग र हल्का व्यायाम गर्न सकिन्छ । यसो गर्नाले जोर्नी दुख्ने समस्या कम हुन्छ ।
जाडोमा जोर्नी दुख्ने समस्या भिटामिन डीको कमीले पनि भएको हुनसक्छ । यस्तो अवस्थामा यसको कमी पूर्ति गर्न हरेक दिन केही समय घाममा बस्नुपर्छ । साथै आफ्नो आहारमा भिटामिन डीयुक्त खानेकुरा जस्तै च्याउ, अण्डा, माछा आदि समावेश गर्नुपर्छ ।
क्याल्सियमयुक्त खानाले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । शरीरमा क्याल्सियमको कमीले गर्दा नै हड्डीको दुखाइ उत्पन्न हुने हुन्छ । त्यसैले क्याल्सियम भएका खानेकुरा जस्तै दूध, दूधबाट बनेका चीज, ब्रोकाउली, सालमन माछा, पालुङ्गो, राजमा, बदाम, तोफु आदिको भरपुर सेवन गर्नुपर्छ ।
जाडो मौसममा हट वाटर ब्यागले सेक्दा पनि दुखाइ कम हुनसक्छ । यसले जोर्नीलाई आराम दिन्छ । तातो तेलको मसाजले पनि दुखाइबाट राहत दिन्छ ।
जाडोमा कम तापक्रमका कारण मानिसलाई कम तिर्खा लाग्छ, जसकारण धेरैले पर्याप्त मात्रामा पानी पिउँदैनन् । यस्तो अवस्थामा कम पानी पिउँदा जोर्नीमा तरल पदार्थ राम्ररी बग्न पाउँदैन र जोर्नी दुख्ने समस्या हुन्छ । यस्तोमा जाडोमा प्रशस्त मात्रामा पानी पिउँदा पनि जोर्नीको दुखाइबाट बच्न सकिन्छ ।
वृद्धवृद्धाहरूमा जोर्नी दुख्ने समस्या देखिएको छ भने भर्याङ ओर्लिने उक्लिने प्रक्रियालाई कम गर्नुपर्छ । धेरै चिसोमा मर्निङवाक जानु हुँदैन । घरमा नै सामान्य खालका व्यायाम गर्नुपर्छ ।
यी माथिका कुरामा ध्यान दिंदा पनि जोर्नी दुखाइ कम भएन भने अन्य हड्डी तथा नसा रोगहरूका कारणले पनि हुनसक्छ । त्यसैले सम्बन्धित डाक्टरको परामर्श लिनुपर्छ । अनलाईन खवर बाट ।