तेह्रथुम । लगातारको अविरल वर्षापछि कोशी प्रदेशका विभिन्न नदीहरुमा आएको बाढी र पहिरोमा परी हाल सम्म ५ जनाको मृत्यु भएको छ । ४ जना बाढीले बगाएर बेपत्ता भएका छन् । एक जना घाइते छन् । ५ सय बढी घर डुबानमा परेका छन्। १ हजार बढी विस्थापित भएको प्रहरीले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार धनकुटा, पाँचथर, झापा, इलाम र मोरङ लगायतका जिल्लामा तीन दिनयताको अविरल वर्षापछि आएको पहिरोमा पुरिएर पाँचथरमा तीन र धनकुटामा २ जना सहित ५ को मृत्यु भएको हो । झापामा तीन जना र मोरङमा एक जनालाई खोलाले बगाएर बेपत्ता पारेको प्रहरीले जनाएको छ।
वर्षा जारी रहेका कारण अझै धनजनको क्षति वढ्न सक्ने कोशी प्रदेश प्रहरी कार्यालयका डिआइजी चन्द्र कुवेर खापुङले जानकारी दिनुभयो । पीडितहरुलाई सुरक्षित स्थलमा राख्न र उद्धारका लागि सुरक्षा संयन्त्र परिचालन गरीएको छ ।
प्रहरीका अनुसार धनकुटाको पाख्रीबास नगरपालिका ५ गुराँसेदेवीथानमा पहिरोले पुरिएर आमा छोरीको मृत्यु भएको छ । स्थानीय आशा तामाङ र उनकी आमा रामकुमारी तामाङलाई पहिरोले पुर्दा मृत्यु भएको हो । सोही स्थानकी मीनमाया तामाङ घाइते छिन् ।
त्यस्तै फिदिम नगरपालिका ४ चिसापानीमा घरमाथि पहिरो खस्दा फिदिम नगरपालिका १२ कि २४ वर्षीया सपना शेर्पा र निजकै ६ वर्षीया छोरी डोल्मा शेर्पाको पुरिएर मृत्यु भएको छ । त्यस्तै पाँचथरमै पहिरोमा पुरिएको अर्का थप एक व्यक्तिको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका १ कात्तिके घर भई फुरुङगा हाइड्रोपावरमा कार्यरत ५० वर्षीय गोपी विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।
इलामको माइ नगरपालिका ८ का ६८ वर्षीय मैतराज लिम्वुको सेते खोला तर्ने क्रममा मृत्यु भएको छ । झापामा मात्रै करिब २ सय ५० सर्वसाधारण विस्थापित भएका छन् । मोरङमा पनि त्यही हाराहारीमा सर्वसाधारण विस्थापित भएको प्रहरीले जनाएको छ । बाढी प्रभावित सर्वसाधारणलाई नजिकैको आश्रय स्थलमा राखिएको छ ।