काठमाडौँ । आधुनिक समाजमा तीजको महत्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । तीजमा विवाहित महिलाहरू आफ्नो श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहित महिलाहरु सुयोग्य वरको आशा राखी व्रत बस्छन् । तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइने गरेको पाइन्छ ।
पछिल्लो समय दर खाने परम्परागत शैलीमा परिवर्तन आउन थालेको छ । तीजको अघिल्लो दिन खाइने दर अहिले काम गर्ने ठाउँ, साथी, नातागोता वा सङ्घसंस्था सबै ठाउँमा सम्मानपूर्वक दर खुवाइने गरिएको छ । दर तीजको व्रत बस्ने पहिलो दिन खाने भएपछि पछिल्लो समय महिना दिन अघि देखि नै खान थालिएको देखिन्छ । तीजको व्रतको तयारी स्वरूप बिहीबार आज दर खाने तयारीमा नेपाली महिला छन् । दर खाने दिनसँगै चार दिने तीज पर्व बिहिबादेखि सुरु भएको छ । दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्त ऋषिको पूजा गरी तीज समापन हुन्छ ।
दरमा के खाने, के नखाने ?
दर खाँदा बढी चिल्लो, पिरो र मसलायुक्त खाना खानु हुँदैन । अघिल्लो दिन मसलायुक्त र चिल्लो खाने तर भोलिपल्ट केही नखाँदा पेटको समस्या देखिनुका साथै शरीरमा ग्लुकोजको मात्रा कम भएर बिरामी हुने खतरा रहन्छ । दर व्रतको एक दिनअघि खाइने भएकाले त्यो खानेकुरा भोलिपल्ट व्रत बस्न सजिलो हुने खालको हुनुपर्छ । पाचन प्रक्रियामा असर नगर्ने हुनुपर्छ । त्यसैले दरमा क्यालोरी, चिल्लो र मसला कम भएको खानेकुरा समावेश गर्नुपर्छ । साथै फाइबर र प्रोटिनयुक्त खानेकुरा जस्तो तरकारी, फलफूल, सम्पूर्ण अन्न हुनुपर्छ ।
दर खाने दिन बढी चिल्लो, पिरो खाना खाने र भोलिपल्ट केही नखाई व्रत बस्ने गर्दा पेटको समस्या तथा ग्लुकोजको मात्रा कम भएर व्रतको दिन स्वास्थ्य समस्या नै निम्तिन सक्छ । दरमा धेरै थरीका परिकार समावेश हुन्छन् । दरको दिन परिकार तयार गर्ने क्रममा तेल तथा मसलामा विशेष ध्यान दिन आवश्यक छ । सकेसम्म घरमै परिकार तयार बनाएर खाँदा राम्रो हुन्छ । भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले बढी चिल्लो, पिरो र तारेका खानेकुरा खानु हुँदैन ।
दरका नाममा अघिल्लो दिन अत्यधिक खाने र भोलिपल्ट पानी समेत नखाई व्रत खस्दा स्वास्थ्यमा झनै असर पर्न सक्छ । हामीले खाएको खानेकुरा पच्न नै तीन–चार घण्टा लाग्छ । राति अबेरसम्म खानेकुरा खाएर सुत्दा खानेकुरा राम्ररी पच्न पाउँदैन र पाचन सम्बन्धी समस्या निम्तिन सक्छ ।
पछिल्लो समय महिलामा मधुमेह, उच्च रक्तचाप, थाइराइड लगायत समस्या पनि देखिएकाले तीजको दरका नाममा जथाभाबी रूपमा अत्यधिक खानेकुरा खानु हुँदैन । दर खानु भन्दा पहिला आफ्नो स्वास्थ्य अवस्थाबारे सचेत हुनुपर्छ । यस्तै बढी क्यालोरी खाएको खानेकुरा खाँदा वजन बढ्ने समस्या हुन्छ ।
अखाद्य रङ तथा केमिकल मिसिएका मिठाईले पेट दुखाउने, बान्ता गराउने, पखाला लगाउने एवं फुड प्वाइजनिङ लगायत समस्या ल्याउँछन् । दरमा दही, फलफूल, हरियो सलाद आदि समावेश गर्नु र व्रतको दिनमा पनि आफ्नो शरीरको ख्याल गरी आवश्यकता अनुसार फलफूल र पानी खानु राम्रो हुन्छ ।
दर खाँदा पोषिलो खाने
पोषणका लागि दरमा दुग्ध खाद्य पदार्थ खानु राम्रो मानिन्छ । दूध, दही, मखन, घिउ जस्ता खानेकुराले शरीरलाई लामो समय शक्ति दिने भएकाले यसबाट बनेका खानेकुरा सन्तुलित रूपमा खानुपर्छ । यसका साथै फलफूल तथा अन्नबाट बनेका परिकार खानुपर्छ । मधुमेह, रक्तचाप, ग्यास्ट्रिकका समस्या भएका बिरामीले दर खाँदा खानाको सन्तुलनमा विशेष ध्यान दिनुपर्छ ।
दरको नाममा मादक पदार्थ सेवन गर्नु हुँदैन
दरको नाममा मादक पदार्थ सेवन गर्नु स्वास्थ्यको लागि हानिकारक हो । तीजभन्दा धेरै दिनअघि हुने गरेका दर कार्यक्रममा मदिराजस्ता हानिकारक कुरा प्रयोगलाई निरुत्साहित गरिनुपर्छ । यस्तै मौसम वर्षातको भएकाले यो मौसममा बजारका खानेकुरा तथा सागसब्जी अस्वस्थ पनि हुन सक्छ । राम्रोसँग पखालिएको र पकाइएको खानेकुरा मात्र खानुपर्छ । घरमै बनाइएको ताजा र पोषिलो खाना खानुपर्छ । बासी, सडेका, ढुसी परेका खानेकुराबाट टाढा रहनुपर्छ । दरका लागि बनाइएको खानेकुरा नसिद्धिएर पछिका लागि राखेर खाँदा स्वास्थ्य समस्या हुन सक्ने भएकोले ताजा र स्वच्छ खानेकुरा मात्र खानुपर्छ । रमझम गरी रमाइलो गर्ने तीजमा बिरामी परेर हुने बिजोगबाट बच्न खानेकुराको स्वच्छतामा ध्यान दिनैपर्छ ।
कस्ता व्यक्तिले व्रत बस्ने ?
तीज भन्ने बित्तिकै व्रत मात्र होइन, रमाइलो र नाचगान पनि उत्तिकै हुने पर्व हो । तर तीजमा व्रत बसेका महिलाले खाली पेटमा नाच्दा पनि ख्याल गर्नुपर्छ । आफ्नो स्वास्थ्यलाई ख्याल गरेर मात्र मनोरञ्जन गर्दा फाइदा पुग्छ ।
नियमित औषधी प्रयोग गर्ने महिलाको लागि तीजको निराहार व्रत उपयुक्त हुँदैन । पानी पनि नखाई व्रत बस्दा उनीहरूको ज्यान पनि जान सक्छ । यदि व्रत बस्नै पर्ने अवस्था भए पानी तथा फलफूल धेरै खानुपर्छ र औषधी त छुटाउनै हुँदैन । शरीर कमजोर हुनेहरूले व्रत बस्दा शरीर झन् कमजोर हुनसक्छ । त्यसैले बिरामी भएका महिलाहरूले व्रत नबस्दा ठिक हुन्छ । यस्तै गर्भवती, मधुमेह, उच्च रक्तचाप, श्वासप्रश्वास तथा फोक्सोको समस्या भएका वा अन्य कुनै दीर्घरोग लागेका महिलाले व्रत बस्नु हुँदैन । प्रशासन बाट ।
(स्टार हस्पिटल सानेपा, ललितपुरमा कार्यरत पोषणविद्, कला नेपालसँगको कुराकानीमा आधारित)