तेह्रथुम । कोरोना भाइरसको महामारी सगै थलापरेको कोशी प्रदेशको पर्यटन व्यवसायले विस्तारै पुरानै लय समात्न थालेको छ । यो वर्ष प्रदेश भित्रका पर्यटकीय स्थलहरूमा देखिएको आन्तरिक र बाह्य पर्यटकको बढ्दो चहलपहलले पनि यस क्षेत्रको पर्यटन व्यवसाय पुरानै लयमा फर्किन थालेको सङ्केत गरेको छ ।
अघिल्लो वर्षको तुलनामा यो वर्षको जनवरी यता पर्यटक आगमनमा दोब्बर वृद्धि भएको पर्यटन व्यवसायीहरुले बताएकाछन् । कोशी र मेची राजमार्ग भएर धरान–बसन्तपुर हुंदै तीनजुरे सम्म आउने पर्यटकको संख्या यो बर्ष दोब्बर बृद्धि भएको पर्यटन व्यवसायी समेत रहेका बसन्तपुरका होटल व्यवसायी प्रकास श्रेष्ठ बताउछन् । श्रेष्ठको जस्तै भनाइ अर्का होटल व्यवसायी श्री कार्कीको पनि छ ।
पछिल्लो समय प्रदेश सरकारले पर्यटन क्षेत्रका नयाँ गन्तव्यहरुको पहिचान गरी भौतिक पुर्वाधार निर्माणको कामलाई अगाडी वढाएकाले पनि पर्यटकको आगमनमा वृद्धि भएको पर्यटन तथा होटल व्यवसायी श्रेष्ठको दाबी छ । बाह्य मुलुकबाट कोशी प्रदेशमा घुम्न आउने पर्यटकको एकिन तथ्याङ्क कुनै पनि निकायले राखेको पाइदैन । तर नेपाल पर्यटन बोर्डको तथ्याङक अनुसार माघ महिना देखी जेठ तेस्रो सातासम्म ५ लाख ६ हजार २ सय ८० पर्यटक नेपाल भित्रीएका छन् । जवकी सन् २०२३ मा १० लाख १ हजार ८ सय ४४ पर्यटक नेपाल भित्रीएका थिए ।
प्रदेश सरकारले पर्यटकीय विकासका लागि पर्यटन गुरुयोजना नै वनाएर काम गरिरहेको जनाएको छ । गुरुयोजना निर्माण भएर कार्यान्वयमा आएपछि कोशी प्रदेशमा पर्यटन क्षेत्रले फड्को मार्ने पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेको दावी छ । गुरुयोजना निर्माण संगै प्रदेशका पर्यटकीय संभावना वोकेका क्षेत्रमा भौतिक पुर्वाधार निर्माण र सौन्दर्यकरणमा पनि मन्त्रालयले काम गरिरहेको छ । पर्यटकको आगमनले होटल तथा लज, कृषि, यातायात लगायत व्यवसायमा टेवा पुगिरहेको उद्योग बाणिज्य संघ तेह्रथुमका अध्यक्ष राजीव ढुंगानाको भनाई छ ।
पर्यटन क्षेत्रको विकास र विस्तारका लागि पूर्वाधार निर्माण र प्रचार प्रसारमा थप काम भने गुर्नपर्ने अवस्था छ । यि काम गर्न सकिएको खण्डमा पर्यटन क्षेत्र प्रदेशको आर्थिक समृद्धिका लागि महत्वपूर्ण माध्यम वन्न सक्ने संखुवासभाका प्रदेशसभा सदस्य विदुर कुमार लिङथेपले वताए । कोशी प्रदेश भौगोलिक, धार्मिक, सांस्कृतिक, जैविक विविधतायुक्त क्षेत्र हो । भारतको विहार, पश्चिम बंगाल दुरीका हिसावले नजिक भएकाले पनि धेरै थरीका पर्यटक यस क्षेत्रका पर्यटकीय स्थलमा भित्र्याउन सकिने प्रदेशसभा सदस्य लिङथेपको भनाई छ । धेरै जनसंख्या भएका भारतका यि प्रदेशका २५ प्रतिशत मात्र जनसंख्यालाई तान्न सकियो भने पनि कोशी प्रदेशमा बर्ष भरी नै पर्यटक भरीभराउ हुने पर्यटन कार्यालय कांकडभिट्टाका प्रमुख प्रभात भटराईको भनाई छ ।
कोशी प्रदेश सरकारले चालु आवको आफ्नो नीति तथा कार्यक्रममा पनि पर्यटन क्षेत्रको विकासका लागि महत्वपूर्ण कार्यक्रम समेटेको छ । कोशी प्रदेश सरकारले “प्रकृति र संस्कृति, पर्यटन मार्फत समुन्नति” भन्ने नारा नै दिएर प्रकृतिमा आधारित ग्रामीण पर्यटन, कृषि पर्यटन, घरबास पर्यटन, खगोल पर्यटन, जल पर्यटन, साहसिक पर्यटन, खेलकुद पर्यटन तथा पदयात्रा पर्यटन लगायतको प्रवद्र्धन मार्फत कोशी प्रदेशलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम नै अघि सारेको छ ।
कोशी प्रदेश सरकारले २०८२ लाई कोशी प्रदेश पर्यटन वर्षका रुपमा विभिन्न कार्यक्रम गरी मनाउने घोषणा गरेको छ । ०८२ बैशाख १ गते गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रमा अन्तर्राष्ट्रिय गुराँस महोत्सव पनि आयोजना गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । टिएमजे तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगम स्थल हो । प्रदेशको पर्यटकीय समृद्धिका लागि तीन वटै तहका सरकारले प्रचार प्रसार र पुर्वाधार निर्माणका काममा भने तत्कालै लाग्नु पर्ने अवस्था रहेको कोशी प्रदेशका पुर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण तिवारीको भनाई छ ।
विदेशीहरू मुख्य गरी बिदा मनाउन, धार्मिक यात्रा र पर्वतारोहणका लागि नेपाल आउने गरेका छन् । पछिल्लो समय नेपालीहरुमा समेत घुमघाम गर्ने संस्कार विकास भैरहेको छ । हिमाली शृंखला दृश्यावलोकन, पदयात्रा, पुजाआजा र पवर्तारोहणमा आउनेहरुको संख्या बढिरहेको छ । जसले गर्दा कोशी प्रदेशमा पर्यटकीय संभावना वढेर गएको पुर्व मन्त्री तिवारीको भनाई छ । पर्यटन उद्योग बिना लगानीको उद्योग भएकाले पर्यटक भित्रीनु सुखद पक्ष भएको अर्थविद प्रा.डा.शिव सुवेदीको भनाई छ ।
पर्यटक आगमनले स्थानीय समुदायमा सामाजिक, सांस्कृतिक र वातावरणीय रुपमा समेत चेतना विकास गर्ने भएकाले आर्थिक रुपमा मात्र नभएर अन्य पक्ष बाट समेत फाईदा पुग्ने प्रा.डा.सुवेदीले वताए । प्रदेश सरकारले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि अलग्यै आयोजना कार्यालय समेत स्थापना गरेर पर्यटकीय स्थलहरुको विकास र प्रवद्र्धन गर्ने काम गरिरहेको जनाएको छ । आयोजना कार्यालयले प्रदेश भित्रका धार्मिक महत्व वोकेका सुनसरीको बराह क्षेत्र खोटाङको हलेसी र ताप्लेजुङको पाथीभरा क्षेत्रमा पुर्वाधार निर्माण र सौन्दर्यकरणको क्षेत्रमा काम गरिरहेको आयोजना प्रमुख कुलदिप प्रसाद यादवले जानकारी दिए । ‘यि क्षेत्रमा पुर्वाधार निर्माण गरेर विश्वभरका धार्मिक पर्यटक भित्र्याउन सकियो भने प्रदेश सरकारको आम्दानीमा समेत वृद्धि हुनेछ’ आयोजना प्रमुख यादवले भने ।
मन्त्रालयले जिल्ला र क्षेत्रगत रुपमा समेटिने गरी चार स्थानमा वहुबर्षीय पर्यटकीय पुवाधार निर्माणको काम गरिरहेको जनाएको छ । मोरङको रंगेली स्थित सनसारी माईस्थानमा लाग्दै आएको मेला व्यवस्थापन, विराटनगर उपमहानगरपालिका ६ मा मुस्लीम समुदायलाई लक्षित गरी यात्री घर निर्माण, सुनसुरीको कोशी गाउँपालिकामा यात्रु आराम स्थल र पाँचथरको लुब्रीकुटी क्षेत्रमा भौतिक पुर्वाधार निर्माण र सौन्दर्यकरण गर्ने काम भइरहेको सचिव घिमिरेको भनाई छ ।
त्यस्तै गुराँस वाहुल्य क्षेत्र तीनजुरे मिल्के जलजले (टिएमजे) र इलामको म्याइभ्याली सहितका पहाडी जिल्लालाई समेटेर दातृ निकायको सहयोगमा मन्त्रालयले पहाडी भेगको वनवातावरण भूमि र जैविक विविधता व्यवस्थापनका लागि क्षमता अभिवृद्धि कार्यक्रम नै सञ्चालन गरिरहेको छ । यो कार्यक्रमले पनि पर्या पर्यटनको विकासमा महत्वपूर्ण सहयोग पु¥याउने मन्त्रालयका सचिव घिमिरेको दाबी छ ।
कोशी टप्पु वन्यजन्तु आरक्ष, मकालु बरुण राष्ट्रिय निकुञ्ज, टिएमजे गुराँस संरक्षण क्षेत्र जस्ता संरक्षित क्षेत्र पनि कोशी प्रदेशमै छन् । विश्वकै अग्लो हिमशिखर सगरमाथा पनि कोशी प्रदेशमै छ । यि क्षेत्रमा पर्यटकले पथप्रदर्शक (नेचर गाइड) को सहयोग लिएर वा पैदलै जंगल भ्रमण, सवारी तथा प्रदेश भित्र वग्ने खोला र नदीमा डुंगा सफारी गराएर पनि पर्यटक तान्न सक्ने सामार्थ कोशी प्रदेशले राख्न सक्ने छथर गाउँपालिका तेह्रथुमका अध्यक्ष समेत रहेका गाउँपालिका महासंघ कोशी प्रदेशका सचिव सन्तविर लिम्बुको भनाई छ । ‘सांस्कृतिक पर्यटन, पर्यापर्यटन र प्राकृतिक पर्यटनमा आधारित रहेर आफुले पर्यटन प्रवद्र्धनको काम गरिरहेका छु’ सचिव लिम्वुले भने ‘विविध जाती र संस्कृति रहेको कोशी प्रदेशमा रैथाने संस्कृति प्रवद्र्धन मात्र गर्न सकियो भने पनि पर्यटकलाई केही दिन अलमल्याएर थप लाभ लिन सकिन्छ ।’
बाह्य पर्यटकलाई आगमन खुल्ला गरेको ७५ वर्ष पुग्नै लागेको छ । सरकारले २०१३ सालमा ल्याएको पहिलो पञ्चवर्षीय योजनामै नेपालमा पर्यटनको राम्रो सम्भावना रहेको उल्लेख छ । त्यस बेलादेखी नै सरकारले पूर्वाधार विकासमा जोड दिदै आएको छ । पर्यटकीय क्षेत्रको विकास लाई व्यवस्थित ढंगले अगाडि बढाउने भन्दै २०१६ सालमा पर्यटन बोर्ड स्थापना गरिएपछि त विदेशी पर्यटक आगमन वढ्न थालेको हो । प्रदेशभित्र रहेका पर्यटकीय क्षेत्रको पहिचान गरी तिनको प्रचार र पूर्वाधार निर्माणमा सरकारले पहलगर्दै आएको छ । तर पर्याप्त भने देखिएको छैन । कतिपय क्षेत्रमा स्थानीय समुदाय आफैं पनि जुटेर पर्यटकीय गतिविधीमा संलग्न भएका छन् ।
यस्ता कृयाकलापले स्थानीय, प्रदेश र केन्द्र सरकारको आमदानीमा समेत सहयोग पुगेको पर्यटन विकास आयोजना कार्यालयका प्रमुख यादवको भनाई छ । पर्यटकीय पूर्वाधार निर्माण र प्रचारात्मक कार्यमा पर्याप्त पहलकदमी हुन नसक्दा पर्यटन क्षेत्रले सोचे जस्तो प्रगति गर्न सकेको छैन । समय समयमा देखिने विपद् र महामारीका कारण पर्यटक आगमनमा पनि उतार चढाव आउने गरेको पर्यटन व्यवसायिहरु बताउछन् । केही वर्ष अघिको कोरोना भाइरसको महामारीले पर्यटन क्षेत्रलाई ठुलो क्षती पु¥यायो । महामारी मत्थर पछि पर्यटकीय गतिविधिले लय समात्दै गएको छ । पर्यटक संख्या उल्लेख्य वृद्धि गर्न प्रदेशका प्रमुख पर्यटकीय स्थलहरुमा स्वास्थ्य सुविधा, सुरक्षा, खानेपानी, शौचालय, इन्टरनेट जस्ता सुविधा विस्तार गर्ने र स्थानीयलाई पर्यटक मैत्री व्यवहारको बारेमा पनि तालिम दिनुपर्ने आवश्यकता देखिएको पर्यटन विकास तथा प्रवद्र्धन समिति तेह्रथुमका पदाधिकारीहरु बताउछन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका १ सय नयाँ पर्यटकीय गन्तब्यहरुको सुचीमा गुराँस र जैविक विविधिताका हिसावले महत्वपुर्ण तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रलाई समेटीएको छ । पर्यटन उद्योगमा निजी क्षेत्र, युवा र किसान समेतलाई आकर्षित गर्न सकियो भने अवश्य पनि कोशी प्रदेशले पर्यटन क्षेत्र बाट लाभ लिन सक्छ । छिमेकी मुलुक भारतको पटना, कोलकाता, विहार तथा बंगलादेशका पर्यटकलाई यस क्षेत्रमा सोझै भित्र्याउने वातावरण प्रदेश र केन्द्र सरकारले वनाउनु पर्ने होटल व्यवसायीहरुको भनाई छ ।
प्रदेश भित्र रहेका विभिन्न पर्यटकीय सर्किटहरुको संजाल निर्माण गरी निजी क्षेत्रको सहभागीतामा पर्यटन मैत्री कृयाकलाप अघि वढाउनु पर्ने आवश्यकता छ । कोशी प्रदेशमा रहेका सगरमाथा, हलेसी, बराहा क्षेत्र, कोशी टप्पु वन्जन्तु आरक्ष, पाथिभारा, टिएमजे, बसन्तपुर, इलाम, भेडेटार लगायतका स्थानमा आउने पर्यटकको संख्या कति छ ? भन्ने एकीकृत तथ्याङक सरकारका कुनै पनि निकाय संग छैन् । यसलाई व्यवस्थीत गर्ने काममा तीन तहकै सरकारले ध्यान दिन जरुरी देखिन्छ ।
कोशी प्रदेशमा कृषि पर्यटनको प्रचुर संभावना रहेकाले कृषिमा आधुनिकीकरण गर्दै उत्पादन बढाउन सकियो भने सिंगो प्रदेशलाई नै खाद्यन्नमा आत्मनिर्भर बनाउदै कृषि पर्यटनको विकास गर्न सकिने उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव लेखराज दाहालको भनाई छ ।
पर्यटकीय गन्तव्य स्थल सम्म पुग्न पनि व्यवस्थित सडक छैन । पुग्दा पनि खाने बस्ने सुविधा भएका होटलहरु प्रयाप्त छैनन् । अधिकांस पर्यटकीय क्षेत्रमा नाम मात्रका होमस्टे संचालनमा छन् । यस्ता होमस्टेको स्तरीकरण र पर्यटकलाई गरिने व्यवहारमा सुधार गरिनु आवश्यक छ । यो काम गर्न सकियो भने कोशी प्रदेश पर्यटकका लागि हव वन्न सक्ने पर्यटन व्यवसायीको भनाई छ ।
पर्यटन क्षेत्रको विकास गर्दा स्थानीय अर्थतन्त्र, उत्पादन र रोजगारी संगसंगै जोढ्नु पर्छ । पर्यटकले मौलिकखाना, हस्तकला, मौलिक पेय पदार्थ खाने मात्रै होइन, किनेर लैजाऊन् र यस्ता स्थलको अवलोकन गरुन भन्ने हामीले चाहाना राख्नु पर्छ, जसले गर्दा पर्यटकको बसाइ अवधि लम्व्याउन सकिने अर्थविद प्रा.डा.सुवेदीको भनाई छ ।
‘पर्यटकहरूको बसाइ लम्बिनु भनेको गाउँमा पैसा पुग्नु हो । जमिन, पानी तथा जंगलमा आधारित उत्पादन र स्थानीय संग भएको वैज्ञानिक सीपलाई प्रयोग गरी गरिने उत्पादन हाम्रा लागि पर्यटक लोभ्याउने उपयुक्त माध्यम हुन सक्छन्’ अर्थविद् प्रा.डा.सुवेदीले भने । पर्यटकको आगमन संख्या, बसाई अवधि, प्रति पर्यटक खर्च आदि बढाउन पर्यटकीय सम्पदा र वस्तुहरुको विविधिकरण तथा विकास गर्दै त्यसलाई विश्व पर्यटन बजारमा बजारीकरण गर्दै दक्ष जनशक्ति विकासमा पनि उत्तिकै ध्यान दिनुपर्ने बसन्तपुरका पुराना होटल व्यवसायी पेम्बा छिरिङ भोटीया बताउछन् ।
धुवाँरहित उद्योगको रुपमा विश्वव्यापी बन्दै गएको पर्यटन व्यवसाय संसारका अधिकास मुलुकका लागि दरिलो आर्थिक अवसर प्रमाणित भइसकेको छ । राष्ट्रिय आम्दानी, प्रतिव्यक्ति आय, करको बढोत्तरी, विदेशी मुद्रा आर्जन देखि वेरोजगारी समस्या समाधानका लागि समेत पर्यटन क्षेत्रले सकारात्मक भूमिका खेल्दै आएको छ । प्राकृतिक र सांस्कृतिक सम्पदाका आधारमा नेपाललाई विश्व पर्यटन वजारको महत्वपूर्ण गन्तव्य स्थलको रुपमा विकास गर्न सकिन्छ । तर नेपालमा पर्यटन उद्योगको विकासले गति लिन सकेको पाइदैन, त्यसका लागि सरकारी क्षेत्र, पर्यटन व्यवसायि र स्थानीयको सहकार्य जरुरी रहेको विज्ञहरुले औल्याएका छन् ।