रुकुम पश्चिम । शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको हो।
ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका रहेका छन् । त्यस्तै अहिलेसम्म भूकम्पमा परी कम्तीमा ५५ जना घाइते भएको विवरण प्राप्त भएको डीएसपी रोकाले जानकारी दिए ।
घाइतेहरूमध्ये ५ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा भइरहेको छ ।
त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ ।
रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन् । यसमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ । बाँकी अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै विभिन्न स्वास्थ्य संस्थामा भइरहेको बताइएको छ ।
तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धार लगायतका काम भइरहेको दुवै जिल्लाका सुरक्षा प्रमुखहरूले बताएका छन् ।
भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने, रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ । यसकारण पनि उद्धारमा केही ढिलाइ भएको बताउँदै रुकुम पश्चिम प्रहरी प्रमुख भट्टराईले जसोतसो घाइतेहरूको उद्धार कार्य चलिरहेको र सडक खुलाउने प्रयास भइरहेको जानकारी गराए ।
यसै विच उद्धार, उपचार र राहतका लागि स्वास्थ्यकर्मी, उद्धारकर्मी र राहत सामग्री लिएर नेपाली सेनाका तीन हेलिकप्टर, नेपाल वायु सेवा निगमको एक जहाज जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रतर्फ लागेका छन् ।
उद्धार र राहतका लागि सेनाका ३ हेलिकप्टर र निगमको जहाज भूकम्प प्रभावित क्षेत्रमा
प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार औषधि, स्वास्थ्यकर्मी र राहत सामग्री लिएर सेनाको स्काई ट्रक, स्वास्थ्यकर्मी लिएर अर्को हेलिकप्टर जाजरकोट र रुकुम पश्चिम प्रभावित क्षेत्रमा उडिसकेको बताए । त्यस्तै स्वास्थ्य र सामग्रीसहित नेपाल वायु सेवा निगमको ट्विनअटर जहाज चौरहजहारी विमानस्थलतर्फ उड्ने तयारी गरेको छ ।
‘हामी विमानस्थलमा बसेर उद्धार, उपचार र राहतको संयोजन गरिरहेका छौँ । स्वास्थ्यकर्मी, औषधि, राहत सामग्री लिएर तीन हेलिकप्टर गइसकेका छन् । जहाज जाने तयारीमा छ,’ उनले भने, ‘प्रधानमन्त्री, मन्त्री र सांसद प्रभावित क्षेत्रमा पुग्दै हुनुहुन्छ । प्रधानमन्त्रीले आवश्यक सबै काम गर्न निर्देशन दिनुभएको छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री एवं जाजरकोटका सांसद शक्ति बस्नेत, रुकुम पश्चिमका सांसद जनार्दन शर्मा उपचार सामग्री र स्वास्थ्यकर्मीसहित प्रभावित क्षेत्र जारकोटमा पुगेका छन् ।
त्यस्तै कर्णाली प्रदेश सरकारले सुर्खेतबाट स्वास्थ्यकर्मी र औषधि बोकेर एक हेलिकप्टर पठाएको मुख्यमन्त्री राजकुमार शर्माले जानकारी दिए । ‘कर्णाली सरकारले उद्धार, उपचार र राहतमा हवाई र स्थलतरुपमा निरन्तर काम गर्न सुरु गरेको छ,’ उनले भने । त्यस्तै सरकारले घाइतको उपचारका लागि चौरजहारी अस्पताल र विमानस्थललाई फोकल स्थल बनाई काम गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।