काठमाडौँ । माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलको ९ किलो सुन भित्र्याउने तस्करसँगको सम्बन्ध पुष्टि भइसक्दासमेत अनुसन्धान नहुँदा सरकार तथा खासगरी गृह प्रशासन र अनुसन्धानकारी निकायमाथि नै अविश्वास पैदा भएको छ । महरा र उनका छोराको सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भइसकेको छ ।
अनुसन्धान र अभियोजनमा संलग्न स्रोतका अनुसार कृष्णबहादुरको छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले किटान गरेर प्रतिवेदन तयार पारेको छ । सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेका थिए । त्यही बेला महराको अर्का छोरा राहुलसँग २८ पटक फोन सम्पर्क भएको देखिन्छ ।
राहुललाई सुन तस्कर दाओजिन वाङले ६४ पटक र राहुलले दाओजिनलाई १ सय ३१ पटक सम्पर्क गरेको देखिन्छ । हाल फरार असिन भनिएका अर्का चिनियाँ तस्करलाई राहुलले ३ पटक सम्पर्क गरेका थिए । राहुलले नै फरार रहेका अर्का व्यक्ति लोकेन्द्र पौडेललाई ३६ पटक फोन सम्पर्क गरेको देखिन्छ । यो सञ्जालसँग पटक–पटक सम्पर्क भए पनि महरा बाबुछोरा अनुसन्धानको दायरामा अझै आएका छैनन् । त्यसैगरी राहुलले विमानस्थलका भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई एकपटक टेलिफोन गरेका थिए । श्रेष्ठले प्रहरीलाई दिएको बयान अनुसार राहुलले तस्करीको उक्त सुनबारे चासो राख्दै लिलामीको प्रक्रियाबारे जानकारी लिएका थिए । तर उनीहरूमाथि अनुसन्धान भने भएको छैन ।
महराकै पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री छन् । तर, उनीहरू पार्टी र सरकारका अनुसन्धानकारी निकायबाट थप छानबिन गराउन अनदेखा गरिरहेका छन् । ‘महरामाथि कुनै अनुसन्धान अघि नबढ्दा आम जनमानस र प्रमुख प्रतिपक्ष दलमा यो सरकारले निष्पक्ष अनुसन्धान गरिरहेको छैन भन्ने शंकालाई पुष्टि गरिरहेको छ,’ एक मन्त्री भन्छन्, ‘निष्पक्ष रूपमा काम गरिरहेको भनेर आम समुदायलाई विश्वासमा लिनका लागि भए पनि छानबिन हुनैपर्ने देखिन्छ ।’
८ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबु–छोरा संलग्न भएको भनेर प्रहरीको सीआईबीको प्रतिवेदनमा टेलिफोन नम्बरसहित किटान गरिएको छ । इलेक्ट्रिक सिगरेट ९भेप० मा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक लुईसँग व्यक्तिगत रूपमा सम्बन्धमा रहेका महरा बाबु–छोराले उनलाई सहयोग पुर्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका अधिकारीलाई तारन्तार फोन गरेको सीआईबीको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार सुन ल्याउने मात्र होइन, भन्सारमा रोकिएपछि त्यहींबाट शक्तिको दुरुपयोग गरी उक्त सुन लिलाम गरी बिक्री गर्नेसम्मको योजना थियो । प्रहरीले कल डिटेल रेकर्डसहित बाबु–छोराको विवरण मात्रै खुलाएर अन्य आरोपितमाथि गत असार २७ मा विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । त्यसको एक महिना बितिसक्दासमेत प्रहरी, गृह प्रशासन र अभियोजन गर्ने निकायले उनीहरूमाथि सामान्य सोधपुछसमेत गरेका छैनन् ।