विराटनगर । निर्माण सामग्री अन्तर्गत फलामे सामानको मूल्यमा एकाएक मन्दी आएपछि सर्वसाधारण उपभोक्ता फाइदा र उत्पादक कम्पनीहरू घाटामा देखिएका छन्।
फलामे सामानका कच्चा र तयारी पदार्थ दुवैमा डेढ महिनादेखि अन्तर्राष्ट्रिय वजारमै मन्दी आएपछि नेपालमा पनि तिनको मूल्यमा ह्रास आएको हो। उद्योगीहरूले टीएमटी, एंगल, च्यानल, एमएस पाइप लगायतका फलामे वस्तुको मूल्यमा भारत र अन्य देशका तुलनामा नेपालमा धेरै गिरावट आएको बताएका छन्।
उद्योग संगठन मोरङका कार्यकारी सदस्य एवम् प्रिमियर स्टिलका सञ्चालक सौरभ शारडाले फलामे वस्तुको मुख्य कच्चा पदार्थ स्पन्ज आइरनको मूल्य किलोको ८ रुपैयाँले घट्ता तयारी वस्तु भने १२ देखि १४ रुपैयाँले घटेको जानकारी दिए।
उद्योगी शारडाले नेपालमा मात्र कच्चा पदार्थको भन्दा तयारी वस्तुको मूल्य धेरै घटेको दाबी गरे। शारडाले भने, ‘असार मसान्तमा बैंक र राजस्वको दबाब थेग्न नसकेपछि हामीले उत्पादनहरू मूल्य घटाएर बेच्नुपर्यो। तर पनि भने जति माल बिक्री भएन। त्यसपछि बजारमा सापटी खोजेर असार मसान्त फर्छ्यौट गर्नुपर्यो। त्यो सापटी तिर्न अहिले पनि हामीले सस्तैमा माल बेच्नुपर्ने बाध्यता छ। सबैजसो फलामे निर्माण सामग्रीका उद्योगको वर्तमान अवस्था यही भएको छ।’ दुई महिना अघि टीएमटीको कारखाना मूल्य प्रतिकिलो (भ्याटबाहेक) ९४ थियो, अहिले ७९ रुपैयाँ भएको छ। एंगल किलोको ९८ बाट ८५ रुपैयाँमा झरिसकेको छ। च्यानल किलोको १०२ बाट ८८ रुपैयाँ भएको छ।
उनका अनुसार दुई महिनापहिले टीएमटीको कारखाना मूल्य प्रतिकिलो भ्याटबाहेक ९४ रुपैयाँ थियो। अहिले ७९ रुपैयाँ भएको छ। यसमा अन्तःशुल्क प्रति किलो १ रुपैयाँ र मूअकर पनि जोडिन्छ। त्यस्तै दुई महिनाअघि एंगलको मूल्य भ्याटबाहेक किलोको ९८ बाट अहिले ८५ रुपैयाँमा झरिसकेको छ। च्यानलको मूल्य भ्याटबाहेक किलोको १०२ बाट ८८ रुपैयाँ भएको छ।
गोयल हार्डवेयरका सञ्चालक राजकुमार गोयलले एमएस पाइपको खुद्रा मूल्यमा किलोको १२ देखि १४ रुपैयाँले गिरावट आएको जानकारी दिए। उनका अनुसार दुई महिनाअघि एमएस पाइपको खुद्रा बिक्री मूल्य किलोको भ्याटबाहेक १ सय २२ रुपैयाँ थियो, अहिले १ सय १० भएको छ।