तेह्रथुम । आठराई गाउँपालिकाले जिल्लामै पहिलो पटक भुउपयोग नीति वनाएर जग्गाको कित्ताकाट शुरु गरेको छ । गाउँपालिकाले आफ्नो क्षेत्रभित्रको जमिनको वर्गीकरण गरी जग्गाको कित्ताकाट गर्न शुरु गरेको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले वताए । भू–क्षमता र भूउपयोगको आधारमा जग्गाको उपभोग गर्ने उदेस्यबाट सरकारले यस अघि नै भू–उपयोग नियमावली २०७९ पास गरी सकेको छ।
भू–उपयोग नियमावलीमा जग्गालाई १० किसिमबाट वर्गीकरण गर्ने व्यवस्था गरिएको छ। एउटा प्रयोजनमा वर्गीकरण गरिएको जग्गा अर्को प्रयोजनबाट उपयोग गर्न नपाउने व्यवबस्था नियमावलीमा गरिएको छ। कृषि प्रयोजनका लागि उल्लेख गरिएको जग्गा आवासीय तथा अन्य प्रयोजनमा प्रयोग गर्न पाइँदैन। निययमावलीमा जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदिनाला ताला सिमसार क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, सांस्कृतिक तथा पूरातात्विक महत्वको क्षेत्र तथा नेपाल सरकारको आवश्यकता अनुसार तोकिएको अन्य क्षेत्र गरी १० किसिमबाट वर्गीकरण गर्ने व्यवस्था नियमावलीमा गरिएको छ।
यस व्यवस्थाअनुसार आवासीय क्षेत्र भनी लालपुर्जामा उल्लेख गरिएको कित्तामा मात्र घर निर्माण गर्न पाइनेछ। नियमावली अनुसार, आवासबाहेक अन्य विवरण लेखिएको कित्तामा कसैले घर बनाउन चाहेमा स्थानीय सरकारले नक्सा पासकोलागि अनुमति दिने छैन। यसैगरी कृषि भनी उल्लेख गरिएको जग्गामा कृषि प्रयोजन बाहेक अन्य कुनै प्रयोजनमा प्रयोग गर्न सकिने छैन।
नापी विभागले तयार गरेको भू उपयोग डाटा तथा स्थानीय आवश्यकता हेरेर स्थानीय सरकारले जग्गालाई १० किसिमबाट वर्गीकरण गर्ने व्यबस्था नियामवलीमा छ। नापी विभागले यसअघि नै ७ सय ५३ वटै स्थानीय तहलाई भू–उपयोग डाटा हस्तान्तरण गरिसेकेको छ। जग्गालाई १० किसिमबाट वर्गीकरण गर्न गाउँपालिका भए गाउँपालिका अध्यक्ष तथा नगरपालिका भए नगरपालिकाको अध्यक्षको संयोजकत्वमा भू–उपयोग परिषद् गठन गर्ने व्यवस्था गरिएको छ।