मोरङ । कोशीमा प्रदेश प्रमुख पर्शुराम खापुङ्ले कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रदेश प्रमुख खापुङ्ले उनलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुख सहित १३, नेकपा (एकिकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीको एक गरी बहुमत ४७ प्रदेश सांसदको समर्थन रहेको भन्दै थापाको नेतृत्वमा सरकार गठनका लागि दावी पेस गरेका थिए ।
नवनियुक्त मुख्यमन्त्री थापाले सानो आकारको मन्त्रिमण्डल गठन गरेर सपथ ग्रहण गर्ने र त्यसपछि विश्वासको मतका लागि थप प्रदेश सांसदको समर्थन जुटाउने प्रयास जारी राख्ने बताए । ‘विश्वासको मतका लागि राप्रपालाई सरकारमा सहभागी गराएर समर्थन जुटाउने प्रयास जारी रहन्छ,’ उनले भने, ‘तर राप्रपाको समर्थन प्राप्त नभएको अवस्थामा सभामुखको निर्णायक मतले पनि विश्वासको मत प्राप्त गर्छौं ।’
एमाले र राप्रपाका सांसदहरुले सरकार गठनका लागि बहुमत सिद्ध गर्न गठबन्धन दलले सभामुख बाबुराम गौतमलाई गन्ती गर्न नमिल्ने बताएका छन् । एमालेका प्रदेश सांसद तथा अधिवक्ता लिलाबल्लभ अधिकारीले सरकार गठनका दावी पेस गर्न सभामुख गौतमलाई माओवादी केन्द्रको सांसदमा गन्ती गरेर सभामुखको तटस्थता भंग भएको दावी गरे । ‘कुनै एउटा राजनीतिक दलको सदस्य भएका व्यक्तिले कसरी तटस्थ भएर प्रदेशसभाको बैठक सञ्चालन गर्न सक्छ ?’ उनले भने, ‘‘सरकार गठनका लागि दावी पेस गर्न सभामुख ज्यूलाई गन्ती गरिएको विषय अब सर्वोच्च अदालतबाटै टुंगिने स्थिति निर्माण भयो ।’
सभामुख प्रदेशसभामा दल त्याग गरेर तटस्थ हुँदा पनि निर्वाचन आयोगको तथ्यांक अनुसार यस प्रदेशमा माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सांसदको संख्या १३ रहेकोलाई संवैधानिक र कानुनी रुपमा अस्विकार गर्ने अवस्था नरहेको गठबन्धन दलका सांसदहरुको भनाइ छ ।
एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक मतको अभावमा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख खापुङ्ले आइतबार सरकार गठनका लागि दावी पेस गर्न बिहीबार साँझ ५ वजेसम्मका लागि समय दिएका थिए ।