तेह्रथुम । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरी सुनसरीले प्रदेशभर ट्राफिक सप्ताह सुरु गरेको छ। कार्यालयले प्रदेशका जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालयको सहकार्यमा सप्ताहव्यापी ट्राफिक जनचेतना मूलक कार्यक्रम आयोजना गरी मनाउन शुरु गरेको हो ।
अभियान अन्तर्गत मंगलबार जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुम बसन्तपुरले पनि एक कार्यक्रम गरी ट्राफिक सप्ताह अभियानको शुरुवात गरेको छ ।
कार्यलयले बसन्तपुर वजारमा प्रभातफेरीको आयोजना गरी ट्राफिक सचेतना सम्वन्धि अन्तकृया गरेको हो । कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, यातायात व्यवसायी, सडक प्रयोगकर्ता, सर्वसाधरण व्यापारी, सवारी चालक, प्रहरी, सरकारी तथा गैरसरकारी क्षेत्रका कर्मचारी लगायतको सहभागीता थियो । कार्यक्रममा सहभागी वक्ताहरुले सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु चढाउनाले दुर्घटना बढेको र यसलाई नियन्त्रण गर्न यातायात व्यवसायी सचेत हुनुपर्नेमा जोड दिएका थिए । ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही नगरी कसैको सोर्समा त्यसै छाड्ने गर्दा थप जोखिम बढ्ने हुँदा त्यस्तो कार्य नगर्न प्रहरीलाई वक्ताहरुले अनुरोध गरेका थिए ।
सडकको अवस्था, भौगोलिक कारण, सवारीसाधनको अवस्था, ट्राफिक नियमको उल्लंघन, मौसम लगायतका कुरामा ध्यान नदिँदा बढी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको भनाई थियो । पैदल यात्री जथाभावी बाटो काट्ने, चौपाय छाड्ने जस्ता कुराले थप दुर्घटना बढेका कारण जनचेतना जगाउँदै दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्ष उत्तम भण्डारीले वताए ।
यस्तै सप्ताहअन्तर्गत पैदल यात्रीलाई सडक पेटी तथा जेब्राक्रसबाट हिँड्न सिकाउने, सवारीसाधनको गतिकम गर्न प्रेरित गर्ने तथा जेब्राक्रसमा पैदल यात्रीलाई प्राथमिकता दिने, पार्किङ एवं सडक पेटी व्यवस्थित गर्दै ट्राफिक सचेतनासम्बन्धी पर्चा र पम्प्लेट वितरण गर्ने, विद्यार्थीलाई ट्राफिक नियमको प्रशिक्षण दिनेलगायतका कार्यक्रम रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख भण्डारीले जानकारी दिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथी लालीगुराँस नगरपालिका उपप्रमुख जमुना मगर कार्कीले नगर क्षेत्रको ट्राफिक व्यवस्थापनमा नगरपालिकाले पनि सक्दो सहयोग गर्ने वताईन् ।