देवनारायण साह
मोरङ । माओवादीले सरकार छाडेपछि अल्पमतमा परेका कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने भएका छन् । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीलाई बिहीबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकको कार्यसूचीमा ‘विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने’ विषय राखिदिन सूचित गराएका छन् ।
सचिव पराजुलीका अनुसार बिहीबार सुरु हुने प्रदेशसभाको तेस्रो अधिवेशनको सम्भावित कार्यसूचीमा प्रदेश प्रमुख पर्शुराम खापुङले पठाएको अधिवेशन आह्वानको पत्र सभामुख बाबुराम गौतमले पढेर सुनाउने, बजेटसबन्धी अध्यादेश पेस गर्ने, मुख्यमन्त्री कार्कीले विश्वासका मतका लागि प्रस्ताव राख्नेलगायत छन् । बिहीबार बिहान ११ बजे बोलाइएको कार्य व्यवस्था परामर्श समितिले बैठकको कार्यसूचीको अन्तिम टुंगो लगाउनेछ ।
एमालेबाट निर्वाचित मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने समीकरण प्रदेशसभामा छैन । ९३ सदस्यीय प्रदेशसभामा सत्तारूढ एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ गरी ४६ जनाको मात्रै उनलाई समर्थन छ । प्रतिपक्षमा गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाबुराम गौतमसहित १३, एकीकृत समाजवादीका ४ र जसपाको एक गरी ४७ जना छन् । मुख्यमन्त्री कार्कीले ४७ सांसदको समर्थन जुटाएर प्रदेशसभाको बैठकमा विश्वासको मत लिने अवस्थामा सभामुख अनुपस्थित भइदिए उपसभामुखले बैठकको अध्यक्षता गर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा बराबर मत भएपछि मात्रै बैठकको अध्यक्षता गर्नेले निर्णायक मत दिन पाउँछन् तर सभामुखसहित थप एक प्रदेश सांसद
अनुपस्थित भएको अवस्थामा प्रतिपक्षमा ४५ मत मात्रै हुन जाने भएकाले मत बराबर नहुन सक्छ ।
विश्वासको मत सुनिश्चित गर्न मुख्यमन्त्री कार्कीलाई गठबन्धन दलका दुई प्रदेश सांसद तान्नै पर्ने बाध्यात्मक अवस्था छ । तर गठबन्धन दल प्रत्येक प्रदेश सांसदलाई निगरानीमा राखेर मुख्यमन्त्री कार्कीको विश्वासको मतको प्रस्ताव विफल बनाउने तयारीमा छन् ।
गठबन्धन दलका प्रदेश सांसद तान्न नसकेको अवस्थामा मतदान हुनुअघि नै राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खोलिदिने संकेत मुख्यमन्त्री कार्कीले गरेका छन् । विश्वासको मत लिनका लागि बिहीबार प्रदेशसभा बैठक बस्नु अगाडिसम्म प्रयास गरिने एमालेका उपनेता रामबहादुर मगरले बताए । मधेस प्रदेशमा जसपाका मुख्यमन्त्री सरोज यादवलाई एमालेले विश्वासको मत दिएकाले उक्त पार्टीले कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने विश्वास उनले व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाए वा राजीनामा दिए नयाँ सरकार नेतृत्व कसले गर्ने भन्ने अन्योल छ । कांग्रेस र माओवादी आलोपालो नेतृत्व लिनुपर्ने पक्षमा छन् तर पहिले आफैंले सरकारले चलाउनुपर्ने दाबी दुवै दलले गरिरहेका छन् । ‘संसदीय दलका नेताहरूको बैठकमा सरकारको नेतृत्वको विषयमा कसैले आफ्नो अडान नछाडेकाले केन्द्रीय गठबन्धन दलले गरेको निर्णय स्विकारेर जाने सहमति भएको छ,’ कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले भने ।
कांग्रेस र माओवादी दुवै दलले आ–आफ्नो पार्टीका शीर्ष नेताहरूलाई सरकारको नेतृत्वका लागि दबाब दिइरहेका छन् । कांग्रेसका सांसदले पार्टी सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेता र माओवादीका सांसदले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटिसकेका छन् । माओवादीका सांसदले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेश सांसदसहित सोमबार बालुवाटारमा दाहाललाई भेटेका हुन् ।
माओवादीका कोशी प्रदेश इन्चार्ज राम कार्कीले प्रदेशको समग्र स्थितिले नयाँ प्रदेश सरकारको नेतृत्व माओवादीले नै पाउनुपर्ने अवस्था रहेको बताए । इकान्तिपुर बाट ।