काठमाडौ । कांग्रेस र माओवादीका सांसदले वाग्मती प्रदेश सरकारको नेतृत्व हेरफेरको गृहकार्य थालेपछि दबाबमा परेको एकीकृत समाजवादीले अन्य प्रदेशमा पनि नेतृत्व परिवर्तनको माग तेर्स्याएको छ ।
वाग्मतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई हटाएर कांग्रेस नेतृत्वमा सरकार बनाउने गरी सांसदको हस्ताक्षर गरेपछि एकीकृत समाजवादीका शीर्ष नेताले वाग्मतीमा हुने भए अन्य प्रदेशमा पनि नेतृत्व परिवर्तन हुनुपर्ने अडान राखेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार भेट्न गएका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र महासचिव बेदुराम भुसालले वाग्मतीमा मात्रै सरकारको नेतृत्व हेरफेर नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले गठबन्धनमा दलभित्र छलफल गरेर यस विषयमा निष्कर्षमा पुग्ने बताएका छन् । परिवर्तन गर्ने हो भने कसरी गर्ने , पहिला अन्य प्रदेशमा पनि विभिन्न खालका सहमति भएका छन्, त्यहाँ के गर्ने र गर्नैपर्दा कसरी गर्ने हो, सल्लाह गरौं भन्ने कुरा भएको छ,’ भुसालले भने ।
हाल पाँचदलीय गठबन्धनमध्ये गण्डकी र कर्णालीमा कांग्रेस नेतृत्वको, लुम्बिनी र सुदूरपश्चिममा माओवादी नेतृत्वको, प्रदेश १ र वाग्मतीमा एकीकृत समाजवादी नेतृत्वको तथा मधेस प्रदेशमा जसपा नेतृत्वको सरकार छ । वाग्मती छाड्नुपर्ने भए कर्णाली वा सुदूरपश्चिममध्ये एक प्रदेशको नेतृत्व पाउनुपर्ने एकीकृत समाजवादीको माग छ । सत्ता गठबन्धनमै रहेका दलहरूबाट दबाब बढेपछि एकीकृत समाजवादी रणनीतिको खोजीमा जुटेको छ । सुदूरपश्चिम प्रदेशमा पनि आलोपालो सरकार चलाउने सहमति भएको थियो ।
कांग्रेस र माओवादीका २२ सांसदले सरकारको नेतृत्व बदल्नका लागि हस्ताक्षर संकलन गरेपछि पार्टी नेतृत्वसँग छलफलका लागि भन्दै वाग्मतीका मुख्यमन्त्री पाण्डे बिहीबारै काठमाडौं आएका थिए । उनले अध्यक्ष नेपाल सहितका नेतासँग वाग्मतीको अवस्थाबारे ब्रिफिङ गरेपछि नेपाल र भुसाल प्रधानमन्त्री देउवालाई भेट्न गएका थिए । अध्यक्ष नेपालले वाग्मती सहित प्रदेश सरकारको नेतृत्व हेरफेरबारे माओवादी अध्यक्ष पुष्पकमल दाहाल सँग पनि छलफल गरेका छन् । वाग्मतीमा एमाले र एकीकृत समाजवादी मिल्छन् कि भन्ने भय गठबन्धनका अन्य दललाई छ । एकीकृत समाजवादीका १३ र एमालेका ४१ सांसद छन् । १०७ सदस्यीय प्रदेशसभामा यी दुई पार्टी मिल्दा बहुमत पुग्छ । वाग्मतीमा माओवादीका २३ र कांग्रेसका २२ सांसद छन् ।
दाहालले माओवादी नेतृत्वका सरकार सुरक्षित होऊन् भनेर यो मुद्दा सकेसम्म नउचाल्ने दाउमा छन् । वाग्मती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले प्रदेशमा सरकार परिवर्तनले सत्तारूढ पाँचदलीय गठबन्धनलाई कुनै असर नगर्ने बताएका छन् । वाग्मती प्रदेशमा सरकार परिवर्तन गर्दा सत्तारूढ गठबन्धनलाई कुनै असर गर्दैन,’ उनले शनिबार भनेका छन् । जटिलता बढेपछि एकीकृत समाजवादीले वाग्मती प्रदेश संसदीय दलको बैठक काठमाडौंमा बोलाएको छ ।
शनिबार दलको बैठक बस्ने र त्यहाँ पार्टी केन्द्रीय नेताहरू सँग परामर्श हुने एक नेताले बताए । संसदीय दलकी मुख्य सचेतक मुनु सिग्देलले दलको बैठक बोलाइएको बताइन् । एमाले नेत्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार ढालेर गत वर्ष कात्तिक ११ मा चार दलले पाण्डेको नेतृत्वमा सरकार बनाएका थिए । पाण्डे नेतृत्वको सरकार बनाउँदा नै उनीहरूबीच कांग्रेसलाई आधा कार्यकाल दिने सहमति थियो ।