विराटनगर ।आगामी वर्षका लागि प्रदेश १ सरकारले किसानका लागि ४५ करोड रुपैयाँको राहत प्याकेज घोषणा गरेको छ । शुक्रबार प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोरोनाका कारण समस्यामा परेका किसानका लागि ४५ करोड रुपैयाँको राहत प्याकेज घोषणा गरेका हुन् ।
आगामी वर्ष प्रदेश सरकारले वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्कने युवाका लागि स्वरोजगार मूलक परियोजना सञ्चालन गर्ने नीति लिएको छ । विदेशबाट प्रदेश १ मा २ लाख जना फर्किन सक्ने आकलन गर्दै उनीहरुलाई स्वरोजगार बनाउन कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारको योजना छ ।
आगामी वर्षबाट किसानले कृषि उपज उत्पादन गर्ने र त्यसको बिक्रीको जिम्मा प्रदेश सरकारले लिनेछ । विपन्न वर्गका किसानको प्रोत्साहनका लागि किसान कार्ड र राशन कार्ड समेत उपलब्ध गराउने प्रदेश सरकारको योजना छ ।
प्रदेश १ को आयोजना बैंकमा सूचीकृत २६ परियोजनामा थप २४ थपेर ५० वटा पु¥याउने, अन्तर्राष्ट्रिय लगानी भित्र्याउन लगानी सम्मेलन गर्ने, स्वदेशी लगानीका लागि छुट्टै लगानी सम्मेलन गर्ने, सार्वजनिक निजी सझोदारीबाट महत्वपूर्ण ठूलो आयोजनामा लगानी जुटाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
कल्पना नगरेको परिस्थिति सिर्जना भएको बताउँदै प्रदेश प्रमुख प्यासीले स्वास्थ्य र कृषि पहिलो प्राथमिकतामा राखिएको बताए । उत्पादनशील रोजगारी व्यवस्था गर्न उद्योग र भौतिक पूर्वाधार विकास उच्च प्राथमिकतामा राखिएको छ । शिक्षा, सुरक्षा, वन र वातावरण, सूचना प्रविधि र सुशासनको क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको छ ।
सरकारले प्रत्येक जिल्लामा रहने गरी एक जिल्ला, एक उद्योग स्थापना गर्न विस्तृत अध्ययन गर्ने उल्लेख गरेको छ । उद्योगको प्रकृतिमा दोहोरोपन नआउने गरी प्रदेश, स्थानीय तह तथा निजी क्षेत्रको साझेदारीमा सञ्चालन गर्ने सरकारको नीति छ । अनलाइन खबर बाट