मोरङ । कोभिड–१९ संक्रमणको आशंकामा प्रदेश १ का विभिन्न जिल्लामा २ सय ६१ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने १६ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ । क्वारेन्टाइनमा १२ जना महिला र २ सय ५९ जना पुरुष रहेको प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। कोरोनाको संक्रमणको आशंकामा राखिएको २९ जना महिला र ५० जना पुरुष गरी ७९ जनामा कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको आन्तरिक मामिला मन्त्रालयका रवी खनालले बताए। यस प्रदेशमा हाल सम्ममा १ सय २३ स्थानमा २ हजार १ सय ५९ शय्याको क्वारेन्टाइन स्थापना गरिएको छ।
यस्तै, यस प्रदेशको विभिन्न अस्पतालमा स्थापना गरिएको आइसोलेसन वार्डमा ५ जना महिला र ११ जना पुरुष गरी १६ जनालाई कोरोना संक्रमणको आशंकामा उपचार भइरहेको र उनीहरुको स्वाब परीक्षणका लागि नमुना संकलन गरी पठाइएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले बताए। ६ जना पुरुषलाई आइसोलेसन वार्डबाट डिस्चार्ज गरिएको उनले बताए। प्रदेश १ मा कोरोनाको आंशका गरिएका २५ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा २२ जनामा निगेटिभ भेटिएको प्रतिवेदन आएको मेहताले बताए।
प्रदेशभरीमा भारत लगायत तेस्रो मुलुक बाट आएका फ्रान्सेली १ महिला सहित ३९ जना महिला र २ सय १६ जना पुरुष गरी २ सय ५५ जनालाई होम क्वारेन्टाइनमा राखिएको मेहताले बताए। कतारबाट आएका व्यक्तिलाई पनि होम क्वारेन्टाइनमा राखिएको उनले बताए।